डोल्पो डायरिज-Aayush Ojha

“आनन्दको घरको खाट छोडेर यत्रो दुःख गरेर आखिर म के खोज्दै छु” बारम्बार यहि कुरा दौडिदै थियो मेरो दिमागमा जब हामी रेचीको उकालो चड्दै थियौँ । नाक छुने उकालो त थिएन तर पनि दिउँसो १२ बजेको टन्टलापुर घाम अनि भोको पेटमा पाँचघन्टा हिँडिसकेपछि आइपुगेको त्यो उकालो निकै उराठ लाग्दो थियो । ३ दिन देखी छेउमा बगेको भेरीको आवाज सुन्दा सुन्दा मेरा कानहरु वाक्क भैसकेका थिए। शरीरको हरेक कुनाबाट पसिना निस्केर आफुले लगाएको डाउन ज्याकेट निथ्रुक्कै भिजिसकेको थियो। ज्याकेट लगाउँ त गनाउने पसिनाले भिजेको ज्याकेट लगाउँ नि कसरी; ज्याकेट खोलौँ त छाती छेड्ने गरि लागेको चिसो हावाले मार्ला भन्नी डर । रुघाले समातेको भएर ज्याकेट लगाएरै हिड्ने सोच बनाएँ । दुई पाइला अनि एक लामो सास पछि सोच्थेँ “अब त जिन्दगी डोल्पा आउदिन होला ।” छेप्काबाट विहानको करिब ७ः३० मा निस्केका हामी १० जना बाटोमा टुक्रिन पुग्यौँ। काठमाडौँमा बनेको १० जनाको ग्रुप हिड्दा हिड्दै क्रमशः २, २, १, ५ मा टुक्रिइ सकेका थियौँे। सायद टुक्रिएर झनै गाह्रो भयो सबैलाई । दुई भाइ अघि लागेका थिए, एक भाइ एक दिदी तिनलाई भेटाउने सोचले हुइकिएका थिए। एक भाइको स्पिड कसैसँग नमिलेर एक्लै हिड्दै थिए भने हामी ५ जना अन्तिममा घिस्रदै थियौँ। अघि लागेका दुईले खाना भन्दै गरे होलान् भन्नि आशमा हामी ५ जनाको टोली कनि कनि त्यो उकालो चड्दै थियौँ । ५ जनामध्ये म अगाडि थिएँ। त्यहि ठाडो उकालोको दोस्रो मोडपछि यसो अगाडि हेर्दा बौद्धमा देखिने जस्तै झन्डा फर्फराएको देखेँ। शरीरमा एक्कासी अर्कै उर्जा आयो। पछाडी फर्केर जोडले चिच्याएँ, “रेची आइपुग्यो ! झन्डा देखिसकेँ मैले।” यसो भन्दै गर्दा म मेरो साथीहरुमा खुशीको किरण देखिने आशा गर्दै थिए तर तल हस्याङ्फस्याङ् गर्दै हिडेका ४ जनाले मेरो कुरा टिप्नै सकेनन् । मैले झन्डा देखेँ र पो मेरो शरीरमा उफ्रिदै कराउने जाँगर आएको, अरु त अझै “डोल्पा त जिन्दगी आउदिन“ भन्नी सोचमै डुबेका रहेछन् । बल्ल तल्ल रेची पुगियो अनि खाना खाइयो। खाना खाएसी झनै हिड्ने शक्ति नहुदो रहेछ । घरमा बाबाले हरेक शनिबार भन्ने कुरा याद आयो “झ्याप्प भात खाएर मस्त घाममा सुत्ने हो । तर त्यसो गरेर के हुन्थ्यो र ! मरेरै भए पनि फोक्सुन्डो पुग्न थियो त्यो दिन।

2 | KUBiC

दुनै सदरमुकामबाट उकालो लागेको दोस्रो दिन अनि आफ्नो घरपरिवारसँग फोनमा कुरा गर्न नपाएको पनि दुई दिन भैसकेको थियो। बाटोमा कतै नेटवर्क टिप्दो रहेनछ। घरमा आमा बाबासंग कुरा गर्न नपाएकाले पनि होला म एकदम ओइलाइसकेको थिएँ। खैर, खाना खाएर सुत्ने सपनालाई रेचीतिरै बिसाएर फोक्सुन्डोको सपना बोकि हामी रेचीबाट हिड्यौँ। त्यही दिन फोक्सुन्डो पुग्ने सोच थियो तर सोचेर मात्र कहाँ हुदो रहेछ र । रेचीबाट एक घन्टा हिडेपछी बाटोको अन्जान वनमा हामी चियामा डुबेको पाउरोटी जस्तै भइसकेका थियौँ। अब त बास बस्न योग्य घर भेटियो कि त्यही घरमा बस्ने स्थिति आइसकेको थियो । करिब ३ घन्टा हिडेपछी हामी एकदम रमाइलो बस्तीमा पुग्यौँ । त्यहाँ एउटा स्कुल रहेछ र नेटवर्क पनि टिप्दो रहेछ । स्कुल देखेर भन्दा पनि आफ्नो फोनको स्क्रीनमा नेट्वोर्कको सिग्नल देखेर म निकै खुसी भएँ र हतार हतार मामुलाई फोन लगाएँ। मसङ्गै हिडेका अरु ४ जना पनि घरपरिवारसंग बोल्दै थिए। ४८ घन्टा आफ्नो परिवारसंग बोल्न नपाउदा हामी निकै न्यास्रिएका रहेछौँ । आफ्नो प्यारो मान्छेसँग जाबो दुई मिनेट जति बोलेपछि सबैको अनुहारमा छुट्टै रौनक आएको थियो। यहि रौनकका साथ करिब ५ बजेतिर हामी त्यस दिनको बाँस बस्ने ठाउँ, झरना होटल पुगेका थियौँ। निकै सुन्दर माहोल थियो झरना होटलको। सानो चिटिक्क परेको घरको अगाडि ठूलो चौर थियो अनि चौरको एउटा कुनामा स्याउको रुख। जिन्दगीमा पहिलो पटक स्याउको रुख देखेर म अचम्ममा परेको थिएँ। मलाई आँफै रुख चडेर स्याउ खाने ठुलो रहर थियो। स्याउको रुख चडेर आँफै स्याउ टिपेर खाने रहर सबैको थियो। त्यसदिन सायद त्यो रहर पूरा होला जस्तो लागेको थियो तर रुख चड्ने तागत कोसंग थियो र ! रेचीको उकालो र फोक्सुन्डोको सपनाले थकित हामी सबै त्यो दिन खाना खाएर आ–आफ्नो ओछ्यानमा पल्टियौँ। त्यसदिन हामी सबैले एउटा कुरा सिक्यौँ; १० लठ्ठी संगै राखेको भए भाँचिने थिएन तर १० लठ्ठीलाई ५, २, २, १ मा छुट्याएपछि सबै लठ्ठी सजिलै भाँचिन्छ।

“तपाइँहरुलाई ताल पुग्न करिब ३ घन्टा लाग्छ होला” झरना होटलको साहुनीले भनेकी थिइन । “उँ त्या सिधा अगाडि झन्डा देख्नु भो?” भन्दै साहुनीले आकाश छुन लागेको पहाडको टुप्पोतिर देखाइन्। “हो तेइ झन्डाको बाटो हुँदै जाने हो।” यसो भन्दै गर्दा हामी सबै एक अर्काको मुख हेरेर अचम्मित हुँदै थियौं । हुन त त्यो डाँडाजस्तो कति वटा डाँडा कटाएर आइयो होला, यो पनि कटिहाल्छ नि भन्ने सोचका साथ हामी अघि बढ्यौँ । झरना होटलबाट बिहानै उकालो लागियो। बाटो निकै रमाइलो थियो। नयाँ दिनमा नयाँ उर्जाका साथ हामी लाग्यौँ हाम्रो गन्तव्य तर्फ, शे फोक्सुन्डो तर्फ। बाटो अलि उकालो उकालो नै थियो अनि अलि भिरालो पनि । हिड्दै गर्दा पारीपट्टी असाध्यै राम्रो झरना पनि देखियो। अलिकति माथि पुगेपछि नयाँ बाटो र पुरानो बाटो भनेर छुट्टिदो रहेछ । पुरानो बाटो गए २ घन्टा धेरै लाग्ने भएकाले हामी भिरैभिर हुँदै नयाँ बाटोतिर लाग्यौं। फोक्सुन्डो एकदम नजिक भएको हामी सबैले महसुस गर्न सक्थ्यौँ। त्यसैले होला म एकदम तात्तिएको थिएँ । हिजोसम्म स्वा स्वा गर्दै हिडेको म, त्यसदिन कसैले भेट्टाउन सकिरहेका थिएनन ्। छेउमा भेरी नदी हैन फोक्सुन्डो नदी बग्न थालिसकेको थियो। खोलाको पानी निकै सफा भएकोले आकाशे निलो रंगको देखिएको थियो। वरि परि राता फुलहरु फुलेका थिए। मौसम साह्रै मज्जाको भैसकेको थियो । हामी सबैलाई थाहा थियो अब गन्तव्य आउन धेरै छैन । लगभग ३ घन्टाको रमणीय पैदल यात्रा पछि ९० घर भएको रिग्मो गाउँ आइपुग्यो । त्यति पर त्यति ठूलो गाउँ होला भनेर हामीले सोचेका थिएनौ। रिग्मो गाउँ पुग्नासाथ त्यहाँ एउटा दाइलाई देख्ने बित्तिकै हामी सबैको मुखबाट एउटै प्रश्न निस्कियो “दाइ, अब कति पर छ ?” त्यो दाइले मुसुक्क मुस्काउदै “अब दुई मिनेट मात्र । उ त्याँ अगाडि गएर एसो तल हेर्नुस् त देख्नु हुन्छ” भन्दै हातले उत्तरतिर देखाए। खुसीले गद्गद् भएका हामी सबैजना तालको पहिलो झलक सँगसँगै हेर्ने भन्दै तालतिर बढ्यौँ ।

image | KUBiC

३ दिनको गाडिको यात्रा अनि ३ दिनको हिडाईँ पछि शे फोक्सुन्डोको एक झलक देख्दा हामी सबै फक्रक्क फक्रिएको सनफ्लावर जस्तै भएका थियौँ। पहिलो पटक फोक्सुन्डो देखेपछिको रियाक्सन भिडियो बनाउने कुरा भएको थियो तर ताल देखेसी सबै तालको सुन्दरतामा डुब्न थाल्यौं। प्रतीक्षाको फल मीठो हुन्छ भनेझैं त्यति लामो र कठिन यात्रा गरेपछी आइपुगेको शे फोक्सुन्डो तालले मलाई जिन्दगीमा अहिलेसम्म नभेटिएको आनन्द को महसुस गरायो। सबैजना शान्त भएर आफ्नै तालमा ताल हेर्दै थिए। म पनि फोक्सुन्डोको निलो पानी हेर्दै सोच्न थालेँ, “आखिर जीवन पनि एउटा यात्रा नै त हो। अनि जिवनको कठिन यात्रा पछिको सुन्दर गन्तव्य चाहिँ मृत्यु ।” सबैको शान्ति भङ्ग गर्दै लामो सुस्केरा फालेर मैले भने “कति राम्रो है!” सबैजना यति मग्न थिए कि कसैले “अँ” पनि भन्न भ्याएनन्। त्यही मग्नतामा डुबेको बेला मेरो साथीले खिचेको यो तस्वीर हेर्दै गर्दा मलाई अहिले पनि फोक्सुन्डोमै छु जस्तो अनुभव हुन्छ । अनि आजभोलि “आनन्दको घरको खाट” मा पल्टिदैँ त्यही कठिन यात्रालाई सम्झिन्छु । त्यही यात्राको सम्झनाले आज मलाई अरुको यात्रा संस्मरण पढ्ने पाठकबाट आफ्नै यात्रा संस्मरण लेख्ने लेखक बनाएको छ ।


Aayush Ojha | KUBiC
About Author

Aayush Ojha

2018 Batch
Undergraduate
Department Of Biotechnology

Share your love